Tuesday, November 21, 2017

कहिलेसम्म नेतृत्वमा नैतिकता र मतदातामा विवेकको खडेरी ?

SHARE
उन्नत लोकतन्त्रको अभ्यास गरिरहेका विश्वका देशहरुमा हेरौं, नेताहरु भरसक एकपटक, धेरैमा दोस्रो पटकभन्दा धेरै नेतृत्व गर्ने, कुर्सीमा झुण्डिएर बस्ने र सत्तामा भाग खोजिरहने प्रवृत्ति बिरलै भेटिन्छन् । उदाहरणका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदबाट निस्किने बित्तिकै आफ्नो व्यक्तिगत जीवनमा गएर कुनै राजनीतिक हस्तक्षेप र भाग खोजेको खबर सुनिन्न । अझ त्यस अघिका जर्ज बुसको त झन् नाम नै सुन्नमा आउँदैन । यस्तै प्रसङ्ग बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको लिन सकिन्छ । उनी प्रधानमन्त्री पदबाट नैतिकताको आधारमा ब्रेक्जिट जनमतसँगै मार्गप्रशस्त गरेर आफ्नो व्यक्तिगत जीवनमा लागे । उनले कहिल्यै आफ्नो भाग पार्टीमा खोजेको समाचार सुन्न पाइन्न ।

नेपालको इतिहास हेर्दा २००७ सालको क्रान्ति पछि होस् वा २०४७ सालको जनक्रान्ति नेताहरुको औसत उमेर अपवादबाहेक २५ देखि ३५ वर्षको थियो । फलस्वरुप क्रान्ति र विचारले सफलता पाएको थियो । लक्ष्यमा पुगिएको थियो । जब तिनै नेताहरु आफ्नो उमेर ६० नाघेर ८० कटुन्जेल पनि दोहोर्‍याई, तेहेर्‍याई सत्ता र शक्तिमा आउन थाले, आफुलाई सहज बनाउन तिनले प्रणाली र पद्धतिलाई नै गडबड गरेर चलाउन थाले । आफु अनुकुल नेतृत्वशैली बनाउन थाले ।
अहिलेको अवस्थामा ८० प्रतिशत युवा जनमत रहेको देशमा २० प्रतिशत प्रौढहरुले प्रतिनिधित्व गर्ने प्रयास र सत्तालिप्साले शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराईदेखि सबै पटकपटक परीक्षित अनुहारहरु नै फेरी चुनावी रेसमा भाग लिन आउनुमा पक्कै तिनको नियतमा शंका गर्ने ठाउँ छ ।
हिजो त परिवर्तनको लागि लड्नु भो, अबको बदलिँदो विश्वमा नेपाललाई हाँक्ने वहाँहरुको भिजन, दक्षता र सामर्थ्य के ? प्रश्न उठाउने ठाउँ छैनन् र ?
असल नेतृत्व केवल शक्ति आर्जन गर्नु र कुर्सीमा टाँसिएर बसिरहनु मात्र हैन । एउटा संस्कार र राष्ट्रिय चरित्र निर्माण गर्नु, प्रदर्शन गर्नु र भावी पुस्तालाई मार्गदर्शन गर्ने क्षमता राख्नु पनि हो ।
बिडम्बना हाम्रो नेतृत्वमा त्यो खडेरी परेको छ । चारपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अझै चुनाव नै लड्नुछ । दुईपटक भएका प्रचण्डलाई अझै धेरै शक्तिशाली बन्नुछ । केपीजीको त पालो नै पुगेको छैन, जम्मा एकपटक मात्र प्रधानमन्त्री बने । त्यस्तै माधव कमरेड लगायतका अन्यहरुको नाम लिएर शब्दको लामो बिस्कुन लगाउनु व्यर्थ छ । बुझ्नु पर्ने कुरो अब मतदाताले हो ।
जगन कार्की
तर्क जस्तो पनि गर्न सकिएला । ९ महिनामा काम गर्न सकिन, भएन, दिएनन् । फेरी म बने गर्छु भन्ने तर, ‘म’को सट्टा अरुमा पनि त्यो खुबी किन नदेखिने अथवा विकास गर्ने आँट नगर्ने ? एउटा सफल नेतृत्व सबै आफु गर्ने, सधैं अरुलाई घुमाउनेलाई मात्र किमार्थ मानिंदैन । मान्न सकिन्न । नेतृत्वको अध्ययन र परिभाषाले यो परिकल्पना पनि गर्दैन । नेतृत्वमा अरुमा खुबी खोजेर नेतृत्व सुम्पिने आँट पनि हुनुपर्दछ । यदि गर्दैन भने उसको नियत खराब छ । त्यसले आफुपछि लाग्नेको भलो गर्न नसक्ने अध्ययनहरुले बताउँछन् । हामीले हाम्रा नेताले मलाई पुग्यो अब बन्दिनँ भन्ने साहस गरेको कहिले सुन्न पाउने वा पदबाट अवकास लिएको भोलिपल्टदेखि राजनीति नगरी बसेको कहिले देख्न पाउने ? अझै कम्तिमा एक दशक मुस्किल देखिएको छ ।
जब पटक-पटक परीक्षित नेतृत्व अनुभव र नैतिकता विकास गर्दै दिशानिर्देश गर्नुपर्नेहरु नै अरुको पालो मिचेर पद र प्रतिष्ठाको लडाईमा दिशाहिन भएर लम्पसार हुन्छन्, अनि त्यस्तो नेतृत्व पंक्तिबाट के आस गर्न सकिन्छ ?
आज ३ करोड नेपाली अनि राजनीतिमा जीवन होमेर बस्नुभएका युवा र कर्मठ व्यक्तिहरुलाई अपमानित गरी मृत्युलोकसम्म नेतृत्वको कुर्सीमा बस्ने शक्तिकै वरिपरी घुम्ने आकांक्षा राख्ने लोकतन्त्रको अपमान हो । तीन करोड नेपालीहरुको अपमान हो । आजका दिनमा सबै नेपालीले यो कुरा बुझ्न जरुरी छ ।
राजनीतिमा मात्र हैन ठूला-ठूला बहुराष्ट्रिय कम्पनिहरुमा पनि समय, परिस्थिति र आवस्यकता अनुसार छुट्टै-छुट्टै गुण र क्षमता भएको नेतृत्वलाई व्यापारिक अवस्थाअनुसार नियुक्ति गर्ने र बिदाइ गर्ने चलन हुन्छ । जस्तै- कम्पनि र व्यापार घाटामा गएको समय मितव्ययी काम र नयाँ बजार सम्भावना खोज्ने नेतृत्व ल्याईन्छ भने कम्पनि फैलाउनु, बढाउनु पर्ने भए विस्तार गर्ने खुबीको नेतृत्व चुन्ने प्रथा रहेको हुन्छ ।
एउटा विषम् परिस्थितिमा सफलता हासिल गरेको नेतृत्वले अर्को परिस्थितिलाई उही ढंगले नेतृत्व दिन सक्ने भन्ने कुरा नेतृत्व विकास सम्बन्धि अध्ययनले विश्वास नै गरेको छैन र न्याय संगत हुन्न । अझ हालको युगले बिषयअनुसार दक्षता, विशेषज्ञता हासिल गरेको, तालिम लिएको, खारिएको नेतृत्व हुनुपर्ने माग गर्ने गरेको छ । जस्तो बहुमत प्राप्त सरकारबाट २ वर्षको कार्यकाल हुँदा ब्रेक्जिट जनमत संग्रहको आदेशले आफु निर्वाचित हुँदाको आदेशविपरित भएको ठान्दै आफ्नो नेतृत्व उचित नहुने ठान्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नयाँ चुनाव गराई नयाँ नेतृत्वलाई मार्गप्रशस्त गरिदिएका थिए भने सोहि म्यान्डेटमा प्रम बनेकी थेरेजा मैले आफ्नै नेतृत्वलाई फेरी निर्वाचनमा गएर म्यान्डेट लिएकी थिइन् ।
हाम्रो नेपालमा सबै परिस्थितिहरुमा एकै नेतृत्वले हरेक पार्टी र देशको सत्तामा कुन धरातल र नैतिकताको आडमा कब्जा जमाई राख्ने धृष्टता राख्ने र फेरी पनि चुनावमा लड्न आउने ? पार्टीमा भाग खोज्दै बसिरहने ?
नेतृत्वको नैतिकता सम्बन्धि एक अध्ययनले ६० प्रतिशत जनमतले नेतृत्वमा नैतिकता नभएको बताएको भेटियो । जब नेतृत्व नैतिकहिन हुन्छ, उसले आफ्नो त्यस बदमासीको ढाक-छोप गर्न विविध प्रपञ्च, लोभ, मिडिया तथा विविध हत्कण्डा मच्चाएर बाहिरी आवरण तयार गर्ने र नेतृत्व हत्याउने गरेको बताउने नेतृत्व सम्बन्धि एउटा धारको तर्क छ भने अर्को धारले भन्छ- जब संकट आइलाग्छ, को उत्तम व्यक्ति हो र के उत्तम कदम हो भन्ने काम छान्नु नै नैतिक नेतृत्वको कठिनाइ हो र दक्षता बिनाका जस्तासुकै नेतृत्व पनि चुक्ने गरेको ठाउँ यसैलाई बताईएको छ ।
जब सहि तरिकाले नेतृत्व पाउन कठिन हुन्छ, अनि चलाखीपूर्ण तरिकाले नेतृत्व लिनु एउटा कुशल राजनीतिज्ञको कला हो भन्नेहरु पनि छन् । यो धारले भन्छ- नेतृत्वसम्म पुग्नु बिना रक्तपात विविध रणनीति स्वभाविक हो तर शक्ति आर्जन गरेर पनि आफुलाई सफल बनाउने जनमतको पक्षमा काम नगरेर लिप्त भएर एकोहोरो स्वार्थमुखी बन्नु महा विचलन र नेतृत्वको गद्दारी हो ।
नेपालमा अहिले ठ्याक्कै त्यहि भइरहेको भान हुन्छ । चुनावमा ठूला सपना बाँडने, मिलेमतो गरेर ब्यालेट बक्समा पनि खसी नसकेको जनताको मतलाई जोडेर सत्ता र शक्तिको भागबण्डा गर्न थाल्ने प्रपञ्चले दिएको संकेत भनेको सत्ता हत्याउने अनि आफ्नो दुनो सोझो बनाउने, बाँकी हेर्दै जाउँला भन्ने नै हो ।
हुन पनि हाम्रो समाजको चलन त्यस्तै देखिएको छ । हिन्दी उखान जस्तै- ‘जो जिता वोहि सिकन्दर ।’ मात्र जसरी हो जित्नु पर्‍यो, जसरी हो कुम्ल्याउनु पर्‍यो, जसरी हो सम्पति थुपार्नु पर्‍यो । बाँकी ‘सात खुन माफी’ हुने चलनले निम्त्याउने लोकतन्त्रमा दिपक मनांगे, गणेश लामा देखि गोविन्दराज जोशीसम्मले चुनावमा उठ्ने साहस गर्नु अनि बिनोध चौधरीहरु पैसाका पेटी बोकेर पार्टी फेर्दै सिधै सभासद, पद र प्रतिष्ठा खरिद गर्न लाइन लाग्नु राजनीतिक गाईजात्रा मात्रै हो । यसबाट यस्तै फोहोरी खेलबाहेक के आस गर्ने र ?
सन् १९४४ ताका लेविसले गरेको एक अध्ययनले भनेको छ- नेतृत्वले आफ्नो टाउकोले मात्र सोच्ने तर हृदयले महसुस नगर्ने हो भने त्यो नेतृत्वले न्याय दिन सक्दैन । उनी अगाडि भन्छन्- नेतृत्वले सिकाउन मात्र थाल्ने भयो र जे गरे पनि ठीक गर्दैछु भन्ने सोच हावी भयो भने त्यस्तो नेतृत्व लोकतान्त्रिक हुन सक्दैन । नेतृत्वले नैतिकताको आचरण या त तालिम या त अनुसरणबाट मात्र गर्न सक्ने उक्त अध्ययनले बताउँछ । हामीमा हाम्रा नेताले राम्रा कुरा सिक्ने र कार्यकर्ताले नेतालाई त्यति भन्ने ल्याकत राख्ने अभ्यास पाईंदैन ।
मेकिनोनले २००८ मा गरको अर्को अध्ययनले नेतृत्वले बोल्ने र गर्ने शैलीबीचको विभेदले नेतृत्वको विश्वस्नियतामा संकट पैदा गर्ने उल्लेख गरिएको छ । नेपालमा पनि नेतृत्वप्रतिको विश्वासहिनता बढ्नुमा सबैभन्दा ठूलो कसी नेतृत्वले ख्याल नगरी बोल्ने र अर्को आचरण देखाउनु नै हो । एकतर्फी निर्णय गर्ने शैली, आफ्नो स्वार्थअनुसार मात्र चल्ने परिपाटी इत्यादिलाई मान्न सकिन्छ ।
विश्वभर नेतृत्व विकासको प्रक्रियाको चर्चा गर्दा लामो समय लाग्न सक्छ । समग्रमा लडाईंबाट नेता बनेर राज गर्ने युद्धकालिन युगदेखि, ग्रेट म्यान सिद्धान्त वा नेता जन्मँदै महान गुण लिएर जन्मिएको हुन्छ भन्ने युग पनि गइसक्यो । आजको युग सूचना प्रविधिले भरिएको विवेकी जनता र चेतनशील नागरिक समाजले खोजेको नेतृत्व बन्ने युग हो । यो कुरा बोलेर मात्र हैन, व्यवहारमा लागू गरेर जान ढिला गर्न हुँदैन । यसको लागि आफु परिवर्तन भएर परिवर्तनको नेतृत्व लिन सक्ने खुबी भएको नेतृत्व खोजी हुनुपर्दछ । नागरिकले तदनुरुप आफ्नो मतको प्रयोग पनि गर्नुपर्छ ।
आजको सूचना प्रविधिको युगमा कहाँ कसले के बोल्यो र के गर्दैछ भन्ने कुराहरु तुरुन्त विश्वको कुनाबाट हरेक नागरिकले हेरिरहेको हुन्छ र तुरुन्त नेतृत्वको जनमत तलबाट माथि माथिबाट तल घुम्ने गरेको विविध अध्ययनहरुले देखाउने गरेका छन् ।
त्यसैले आफू बन्ने मात्र हैन आफुसंग रहेको समग्र जमात र सबैको सामूहिक फाइदा हुने सामूहिक नेतृत्वको खोजी हुनुपर्छ । आजको दुनियाँमा कोहि कसैको कार्यकर्ता भएर हैन, सहकर्मी भएर कुममा कुम जोडेर हातमा हात राखेर नेतृत्वसंग सहयात्रा गर्न चाहन्छ ।
नेपालको अर्थतन्त्र र राजनीतिक परिवेशमा अर्धसामन्ती चरित्र अन्त्य भयो, मुलुक पुँजीवादमा प्रवेस गर्‍यो । लोकतान्त्रिक गणतन्त्र आयो । विकास, समृद्धि, परिवर्तन भन्ने हाम्रा नेताहरु नै लोकतन्त्रका बाधकजस्ता भएर उभिएको देख्दा इतिहासले आज युवा पुस्तामा त्यसलाई चिरेर अघि बढ्ने, चुनौती दिने अवसर प्रदान गरेको जस्तो भान हुन्छ । हो, युवाहरुले बिलौना गाएर सबै पुरानाले खाए भन्ने भन्दा पनि लडेर परास्त गर्ने हिम्मत राख्नु जरुरी देखिएको छ ।
पछिल्लो अमेरिकि राष्ट्रपति चुनाव र बेलायती चुनावमा भएका विभिन्न अनुसन्धानले अब पार्टी र सैद्धान्तिक राजनीति गर्ने युगको अन्त्य हुँदै गएको र विशुद्ध मुद्दाको आधारमा गरिने राजनीतिक व्यबसाय बन्दै गरेका तथ्यहरु सार्वजनिक भए । त्यस्तै ग्लोबलाइजेसन र पुँजीवादको प्रभावले पार्टीहरु कार्यकर्ताविहिन व्यापारिक संस्थाजस्ता बन्दै गएका तिता यथार्थहरु बाहिर आउँदै गरेका छन् । धनाड्य ट्रम्प उनीजस्तै धनाढ्य विवादास्पद व्यक्ति अन्डारेज चेक रिपब्लिकमा बहुमतले विजयी हुनुलाई पार्टीवाद भन्दा पैसावादको राजनीतिको रुपमा लिनेहरु पनि उत्तिकै भेटिन्छन् । नेपालमा पनि आखिर चुनाव यति महंगो भयो, करोडौंको खेल भयो भन्ने यथार्थ बुझी बुझी किन त्यहि अभ्यास गरिंदै छ ? यसले दिन खोजेको सन्देश के हो ? मनन गर्ने समय आएको छ ।
लुटतन्त्र हो भन्ने जानी-जानी त्यसकै पक्षपोषण र त्यसलाई नै वैधानिकता र मौन स्वीकृति जनमतबाट आज दिँदै गर्दा भोलि हामीले कुन मुखले समृद्ध नेपाल भएन, लुट र भ्रस्टाचार बढ्यो भनेर डंका पिट्ने ? सोचौं !
खास कुरा त अबको विश्वमा लोकतन्त्रको मूल्य मान्यता, प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रता बिनाको कुनै तन्त्र नै नअटाउने देखिएको छ । त्यस सेरोफेरोमा नाम र ब्रान्डहरु फेरेर जस्तो तन्त्र भनिएपनि फरक पर्ने देखिन्न । अझ नेपालमा त जातिय, धार्मिक, गणतन्त्र, लोकतन्त्र, राजतन्त्र सबै सबैसंग लसपस र उठबस गरिसकेको परिस्थितिमा को सबैभन्दा ठूलो र सबैभन्दा सच्चा हनुमान भन्ने पार्टीवादबाट अब त कम्तिमा सबै नेपाली उठ्न जरुरी छ । भोट जसलाई हाले पनि काटमार, पानी बाराबार गर्नु आफ्नै अपमान हो भन्ने बुझ्न एउटा सानो बालकलाई पनि गाह्रो छैन । अब पार्टीहरुले घुमी घुमी गर्ने गठबन्धनबाट प्रष्ट भएको छ कि सत्ताको लागि को कतिबेला कहाँ मिल्छन् पत्तो हुन्न । जति भाषण र झगडा गरेपनि राति भट्टीमा बसेर नेताले संगै जाँड खाने गरेको, कुन भाषा बोल्दा जनतालाई बेबकुफ बनाउन सकिन्छ भन्ने प्लान गर्ने गरेको स्पष्ट बुझिन्छ । यसै अभ्यासस्वरुप भएका वाम एकता, लोकतान्त्रिक एकतालाई सिद्धान्तको, नीतिको भन्दा पनि सबै मिलेर खाने तर जनता झुक्याउने प्रपञ्चको रुपमा हेरिएको छ ।
राजनीतिक कार्टेलिङ कतिसम्म छ भने ठूला नेता उठेको ठाउँमा दलहरुले नै मिलेर कमजोर उम्मेदवार वा उमेद्वारी नै नदिनेसम्म गरेको देखिएको छ ।
अब लोकतन्त्रको सम्बर्द्धनका लागि गुण, दोष र मुद्दाका आधारमा व्यक्ति, पार्टीहरुको समर्थन र विरोध गर्ने वा दलतन्त्रभन्दा माथि उठेर लोकतान्त्रिक नागरिक बन्न बिलम्ब गर्नु हनुमानतन्त्रको अभ्यास र लुटतन्त्रलाई वैधानिकता दिनु बाहेक अरु केहि नहुने देखिएको छ ।
This article was also published on http://www.sajhapost.com/2017/11/13/92482.html
Twitter: @bimaljagan
SHARE

Author: verified_user

0 comments: